Dikhukpa Sewa Samaj

साम्खाः

सबै किरात वंशहरुमा झैं ।।।दिखुक्पा’ वंशमा पनि आफ्नो पितृलाई पुज्ने वा सम्झने अथवा भनौं पितृलाई भाग चढाउने परम्परा छ । यसलाई पितृपूजा भन्दा पनि हुन्छ जसमा पित्रमा (चुलामा) गएका आफ्नो पुर्वजहरुलाई पुकारेर उनीहरुको भाग चढाउने गरिन्छ । हाम्रो समुदायमा के मान्यता छ भने दिवंगत पुर्वजहरु मृत्यु पश्चात पनि हाम्रै वरिपरी रहन्छन्। उनीहरुले सँधै देखिरहन्छन्र सदैव हाम्रो रक्षा गर्छन् । त्यसैले उनीहरुलाई पनि जिवित सरह नै खान दिनु पर्छ अन्यथा उनीहरु रिसाउँछन्, मन दुःखाउँछन्। त्यसकारण सँधै हामीले आफ्नो पितृलाई अन्तिम शक्तिको रुप मान्दै उनीहरुलाई भाग चढाउँदै जानु पर्छ । जसलाई राई वान्तवा भाषामा “साम्खा” भनिन्छ । साम्खालाई सरलीकरण गर्ने हो भने पितृ पूजा पनि भन्दा हुन्छ। साम्खा वर्षमा दुई पटक गरिन्छ जसलाई “दोङ्गवाङ्गमा” उभौंली र “दोबदाब्मा” उधौंली भनिन्छ । यी दुवैको उद्देश्य र विधि एउटै हो मात्र फरक भनेको उर्भौंली वर्षे अन्नबाली लगाउनु भन्दा अगाडी र उधौंली अन्नवाली उठाइसकेपछि गरिन्छ ।

आवश्यक सामाग्रीहरुः

१. वाबुक (चिण्डो)
२. सोलोवा (गाड भएको चिण्डो)
३. बछा (माटोको सानो भाँडा
४. आरावा (चामल)
५. तोल्ला (टुप्पी भएको केराको पात)
६. याङ्गला (केराको पातको एक पाटा)
७. सिप्खादि (चोखो जाँड)
८. अलोब्दी (ठूलो अदुवा), सुबिदि (सानो अदुवा)
९. भाङ्गमाङ्गसा (उसिनेको मासु)
१०. शाब्ताङ्ग (जाँड भएको चिण्डो)
११. वामा –तुप्तुवामा–सानो पोथी, वामा कोक्टाङ्ग–ठूलो अण्डा पार्ने पोथी)

 

विधिः
सम्पूर्ण सामानहरु जुटाइसकेपछि घरको मुलढोकातर्फ फर्काएर थानको स्थापना गरिन्छ । सबैभन्दा पहिले टुप्पीसहितको केराको पात (तोल्ला) बीचछाइन्छ । उभौंलीमा
भए तोल्लालाई घरको निदालबाट उभोंतिर टुप्पो फर्काइन्छ भने उधौंलीमा उधोतिर पारिन्छ । त्यस पछि तोल्लामाथि याङ्गला राखिन्छ अनि दुई छेउमा दुईवटा चिण्डो राखिन्छ साथै लगभग मध्यभागमा वछा राखिन्छ । त्यसपछि सोलोवा पुजारीको छेउमा राखिन्छ जसमा चोखो पानी, जाँड राखिएको हुन्छ । यसका साथै चामल र अदुवा पनि थानको लगभग माझैमा राखिएको हुन्छ । यसरी सम्पूर्ण तयारी सकिएपछि त्यस कार्यक्रमको अगुवा अथवा जान्नेले या भनौं तोकिएको पुजारीले (पाङ्गकामी सेलेमी) आफ्नो विधि थाल्छ पितृलाई पुकार्छ, बोलाउँछ अनि सम्झाउँछ कि आज यो दिनमा यहाँ महान पितृहरुलाई सम्झेर मान गरेर हजुरहरुको पाउदर अथवा भाग यो घरबाट दिनको लागि बोलाएका छौं । तपाईहरु आउनुहोस्, बस्नुहोस्, हेर्नुहोस्हामी तपाईहरुको भाग दिन्छौं सबै माननीय पितृहरु बाँडी–चुँडी खानुहोला भन्दै सुरुवात गर्छन्। यसरी गर्दै जाँदा पोथी कुखुराको ढाडमा मुग्रोले हानेर रगत छदाई थानमा चढाइन्छ । त्यसपछि घरको मुल्की अर्थात् दाब्बेहाङ्गमाको बुन काटिन्छ र अगेनामा पोलिन्छ यही बेला धमाधम पोथीलाई अगेनामा आगो बालेर पोल्ने क्रम जारी रहन्छ । यस बेला बीचमा बिसाइन्छ वा मध्यान्तर सरह हुन्छ । यसरी हतारमा कुखुरा तयार गर्नुको मुख्य कारण चाही के हो भने त्यही पोथीको कलेजो, खुट्टा–पखेटा लगायत थानमा चढाउनु पर्छ र अन्त्यमा प्रसादको रुपमा बाँड्नु पर्छ । यही क्रममा थानको अछेतालाई पनि पकाईन्छ जसलाई फलाब्कोक भनिन्छ । यसैगरी कुखुरा पनि बनाइसकिन्छ र त्यसको टाउको देखि लिएर सरलक्कै करङ्गसम्मको भाग निकालिन्छ जसलाई माब्जिराटाङ्ग भनिन्छ र
थानमा राखिन्छ ।
अब पुनः पाङ्गकामी सेलेमीले पितृहरुलाई लौ अब सम्पूर्ण खाने पिउने कुराहरु आयो अथवा निस्कियो तपाईहरुले बाँडी–चुडी खानुहोला भनेर फलाक्छन्वा आग्रह गर्छन्। यसरी पितृहरुको भाग चढाई सकेपछि उनीहरुलाई धन्यवाद दिँदै सँधै–सँधै त्यस घरपरिवारको उन्नति प्रगतिमा साथ रहन साथै त्यस घरपरिवारमा दुःख कष्ट (सारीमा) नदिन आग्रह गर्छन्र आफ्नै यथास्थानमा गई हाँसी खुसी बस्न अनुरोध गरिन्छ । अब पितृहरुको फिर्ति पछि पुनः घरको मुल्की अर्थात्दाब्बेहाङ्गमाको खुट्टाको बुढी औंलामा केराको पात राखेर “बुन” काटिन्छ र अगेनामा लगाई पोलिन्छ । यसरी सबै पितृहरुको फिर्तिपछि सम्पूणै विधिहरुको समापन पश्चात थानमा चढाएको सम्पूर्ण चिजहरु प्रसादको रुपमा बाँडेर खाइन्छ ।