Reg.No: 564
दिखुक्पा सेवा समाज
Dikhukpa Sewa Samaj
(स्था:२0७३)
PAN.No: 608619039
मानव जीवनको विभिन्न खण्डमा वा समयमा विभिन्न कर्मकाण्डहरु गर्नुपर्छ । यो क्रमशः जन्मेदेखि मृत्युसम्म विभिन्न रुप तथा तरिकाले गरिन्छ । सबैको आ–आफ्नै संस्कार हुन्छन् । त्यही अनुरुप हामी दिखुक्पाहरुको पनि आफ्नै मौलिक परम्परागत संस्कारहरु छन्।
बच्चा जन्मने बित्तिकै सुडेनीले फलाक्छ (याहात्काउछ) अनि छोरा भए भाले र छोरी भए पोथी ठट्टाएर मार्छ र त्यसलाई पोलपाल गरेर बनाउँछ र पकाउँछ । यसरी पकाएको मासु, भात, जाँड र रक्सी आदि एउटा दुनामा राखेर सुम्निमा पारुहाङ्ग तथा पित्रमा बल माग्ने अन्यभुतप्रेतलाई पन्साउने गरिन्छ । त्यसपछि सुत्केरीलाई झानेको जाँड खुवाईन्छ अनि बाँकी खाने कुराहरु खाना र कुखुराको झोल पनि खुवाईन्छ ।
बच्चा जन्मेपछि नाम दिने गरिन्छ । छोरी भए पाँच दिन (५) दिनमा र छोरा भए छ (६) दिनमा नाम राख्ने वा न्वारान गर्ने चलन छ । छोरी हो भने पोथी कुटी मारेर पोलपाल गरी नाङ्गलोमा खुर्पा सहित राखेर वृद्ध महिलाले याहात्काउनुपर्छ । अनि हातमा धागो दिएर आफ्नो मातृभाषामा “लौ है हान्ओको खानालाई सुम्निमा आ त पुवा ओ, ओको आम्नु” भनेर बुढापाकाले नाम लगाइदिन्छन् । यदि छोरा हो भने भाले कुटी मारेर पोलपाल गरेर नाब्लोमा खुकुरीसँग राखेर बृद्ध महिलाले याहात्काउनुपर्छ । अनि हलो, जुवा, अनि धनुकाँड आदि तयार पारेर छोरीलाई जस्तै आफ्नो भाषामा भनिन्छ “लौ है हान ओको आम्नो साप्तङ्ग बिछुबान्छु ओदा युङ्गयाङ्ग, मुमाचामालाई हलो जुवा युङ्गयाङ्ग, सिकार सेत्मा चामालाई आप्तिरङ्ग छे आदो बे युङ्गयाङ्ग ।” भन्दै नाम लगाइदिइन्छ ।
छोरी भए पाँच (५) र छोरा भए छ (६) महिनामा अन्न खुवाईन्छ । छोरा हो भने एउटा थालमा सुन, पैसा, कागज, कलम राखेर बच्चाको अगाडी राखिन्छ र उसले कुन चीज रोज्छ त्यही नै उसले भविष्यमा आर्जन गर्छ भन्ने मान्यता छ । जन्मेदेखि आजै उसले अन्नको परिकार खान लागेको हुनाले जतिसक्दो मिठो र धेरै परिकार तयार पारिएको हुन्छ । ती सबै परिकारबाट अलि अलि नमूना गरी झिकेर चोखे फालिन्छ । त्यसपछि बच्चाको बाबु आमाले दहीमा मुछेको अछेताको टिका लगाइदिएर आशिर्वाद दिँदै चाँदिको मोहर पैसाले बच्चालाई खुवाईन्छ । यही क्रमलाई निरन्तरता दिन परिवारको अन्य सदस्यहरु वरिष्ठताको आधारमा अघि आउँछन्। घरपरिवारको सदस्यहरुको पालो सकिएपछि निम्तालु, आफन्त तथा इष्टमित्रले पनि बच्चालाई आशिर्वाद तथा अन्न ग्रहण गराउँछन्।
छोरा भए छेवर र छोरी भए गुन्युचोली दिएर कर्म चलाउने चलन छ । छोराको छेवरमा कपाल पुरै मुण्डाएर नयाँ कपडा पहिराएर मीठो भोजनका साथै सेतो टीका लगाएर आशिर्वाद दिईन्छ । त्यसैगरी छोरीलाई गुन्युचोली दिई कर्म चलाउने चलन छ । छेवर प्राय जसो तीन वर्षमा गरिन्छ । तर नजुरेको खण्डमा पाँच, सात, नौ आदि बिजोडी वर्षहरुमा गर्दा पनि हुन्छ । तर यो कर्म नगरी विवाह गर्न मिल्दैन । बिवाह हुने निश्चित भएपछि पनि यो कर्म गरेर मात्र बिवाह गरिन्छ । छोराको छेवरमा बाउले टोपी लगाइदिएर कर्म चलाउँछ अनि बुवाआमाको मृत्यु हुँदा त्यही टोपी खोलेर क्रियापुत्रीमा बस्नुपर्छ । त्यसैले यो कर्म नगरेको ब्यक्ति अधुरो हुन्छ ।
अन्य कर्महरु जस्तै बिवाह पनि एउटा गर्नै पर्ने कर्म हो । यसको स्वरुप र शैली हेर्ने हो भने हामी बिवाह दुई शैलीमा गर्छौ भनेर भन्न सकिन्छ ।
यो शैलीको विवाह चाँही औपचारिक र पारम्परिक हो भन्ने हाम्रो मान्यता छ । मागी बिवाहको लागि सर्वप्रथम कलिया (लमी) को बन्दोबस्त गरिन्छ । कलियाको काम मध्यस्तकर्ता सरह हुन्छ । दुवै पक्षलाई सम्बन्ध जोड्नको लागि सहजकर्ताले भूमिका खेल्छन्। उनकै विश्वासमा सम्पूर्ण वार्तालापहरु अगाडि बढाई दुबै पक्ष राजी भए बैना सरह एक चिण्डो रक्सी राखेर टुङ्गो लगाइन्छ । यसरी चिण्डोमा रक्सी राखेर सम्बन्ध गाँस्ने कुरा पक्कापक्की गर्ने प्रत्रियालाई ।।।चुवा’ लाउनु भनिन्छ अर्थात्यसलाई आजकालको भाषामा मगनी भनेर भनिन्छ । चुवा लगाइसकेपछि दुवै पक्षको सरसल्लाह अनुरुप उचित समय मिलाएर दुलाहा पक्षले जन्ती सहित आएर दुलही लगी आफ्नो घरमा भित्राउँछन्। यदि कुनै कारणवस चुवा लगाएको र दुलही भित्राउने बीच धेरै अन्तराल रहेमा हिउँद लाग्यो, भन्दै केटा पक्षले केटी पक्षलाई रित बुझाउँदै गर्नुपर्छ । यसको मूल उद्देश्य हाम्रो सम्झौता हुँदैछ, हामीले बिर्सेको छैन भन्ने जनाउनको लागि हो । अन्तिम विवाहको समारोह वा कार्यक्रमको तिथि मिति तयार पार्नको लागि यादेन (छत्रपत्र) को आयोजना हुन्छ ।
यो शैलीको विवाह आधुनिक ढाँचाको प्रेम विवाह जस्तो सुनिए पनि उत्तिकै पुरानो र पाराम्परिक शैली हो । हामीले सोझै हो¥यौं भने चोरेर अर्थात गुपचुप गरिने विवाह नै चोरी विवाह हो । यसको खास कारण के हो भने लोक समाजले थाहा नपाई सुटुक्क गर्ने भन्ने हो । यस क्रममा परिवार बाहेक अन्यलाई कमै जानकारी हुन्छ । त्यसैले अन्य लोक समाजले थाहा नपाउन भनेर रातको समयमा केटी वा दुलहीलाई केटा पक्षले लिएर जान्छ । अहिले चलेको भागेर जाने वा हाटबजारबाटै मिलेर जाने आदि पनि चोरी विवाह अन्तर्गत पर्न आउँछन्। यसरी केटी वा दुलही लिएर वा भगाएर गइसकेपछि दस्तुर स्वरुप केही रुपैंया पैसा (माङ्गचेम) उनको माइतीमा पठाई ।।।हजुरको छोरी–चेली हाम्रो घरमा छे, हामीले आफ्नो कुलमा भित्रायौं’ भन्ने जानकारी गराउनुपर्छ र उनको माइती पक्षले उनलाई चुलाबाट निकाल्छन्। छोरीको हकमा पनि सोही कुरा लागु हुन्छ । जतिसक्दो चाँडो माङ्गचेम मगाएर पुज्नुपर्छ । यता त्यसरी भगाएर वा चोरेर ल्याएको बेहुली वा दुलहीलाई हामीले चाँडोभन्दा चाँडो चुलामा देखाउने वा पित्रीलाई देखाउने काम गर्नुपर्छ । यदि यसो नगरेमा हकमाङ्क (काँचो वायु) देखिने डर हुन्छ । यसरी मुख्य अड्कोहरुलाई पन्साउँदै काम चलाउ विवाह त हुन्छ । तर अन्त्यमा असली दस्तुर र रित बुझाउँदै छिनाफाना लिनु पर्छ । यो छिनाफाना लिने काम दुलाहा दुलही आमा बाबु बनेर गर्दा पनि हुन्छ । यसरी दुवै तरिकाले विवाह गरिए पनि अन्तिम रित भने एउटै हुन्छ जसले विवाह भएको पुष्टि वा छिनाफानो गर्छ र त्यो महत्वपूर्ण रित हो–बुलु बटुका (काँस डबका) बुझाउने । केटा पक्षले काँस डबका केटीको माइती घरमा पुराएपछि बागदत्त बोलेर मात्र विवाहलाई पूर्णता दिइन्छ । यो विधि गर्दा पितृमा चल्ने जातहरु, राई, लिम्बु, धिमाल, मगरबाट आएकोलाई घरभित्र ।।।हेनसङ्गको’ फेदमा पुजिन्छ भने अन्य जातका कुटुम्बबाट प्राप्त डबकालाई बलेसीमा पुजिन्छ
मुन्धुमी संस्कारमा मानिसको मृत्यु पश्चात दफन गरिन्छ । कसै–कसैको व्यक्तिगत ईच्छा अनुरुप चितामा राखेर अग्नि दिने चलन पनि छ । दफन गर्ने ठाउँसम्म पु¥याउनलाई हरियो बाँसको घारो बनाइन्छ । सम्पूर्ण घरपरिवारको सदस्य, दाजुभाई तथा छरछिमेक भेला भइसकेपछि शवलाई काँचो धागोले बुन बाँधिन्छ र दैलोको सिधा तर्साइन्छ र पालै पालोघरपरिवार आफन्तले चोखो जाँड (चोखोखाचा) देब्रे हातले हरियो (चाछुवा) पातको सहायताले (भएसम्म वाही बाग्वा) तीन–तीन पटक मुखमा हालिन्छ । त्यसपछि कात्रोमा बेरेर घारोमा राखिन्छ र कात्रोकै टुक्राले तीन ठाउँमा बाँधिन्छ र सागरमा लैजानलाई ठिक्क पारिन्छ । घरभित्रबाट भुटेको अलिकति भातसँग कुखुराको चल्ला हतियार प्रयोग नगरी पछारेर मारी खुट्टाले टेकेर च्यातेर पकाई राखिन्छ । त्यसै गरी आगो पनि निकालिन्छ अनि चोयाको सहायताले तयार पारिएको थैली जसमा एक माना चामल र उल्टो ढुब्ग्रोमा जाँड राखिन्छ । यसरी सम्पूर्ण सामाग्री तयारी अवस्थामा रहेपछि सबैभन्दा अगाडी आगो बोक्ने त्यसपछि अन्य सामाग्रीहरु अघि लगाएर शव पनि हिडाइन्छ । तोकिएको स्थानमा पुगी उचित भाग छनौट गरी ।।।मुन्धुम’ फलाक्दै एक दुई पैसा राखी खाल्डो खन्न शुरु गरिन्छ । खाल्डो खन्दा शीर उत्तर र पाउँ दक्षिणतिर पर्ने गरी खन्नु पर्छ । खाल्डो खनिसकेपछि त्यसमा मृतकले प्रयोग गर्ने विशेष गरी मृतकको पृय सामाग्री मुलतः कपडाहरुमा त्यसमा सबै राखिन्छ । यसरी खाल्डोमा मृतकले प्रयोग गरेका सामाग्री त राख्न सकिन्छ तर सुनचाँदी जस्ता बहुमुल्य चिजहरु कहिल्यै पनि राख्नु हुन्न । खाल्डोमा राखिसकेपछि मृतकको शरीरमा रहेको कपडा काटिदिनु पर्छ विशेष गरी तुनाहरु काटिदिनु पर्छ । दुई ओटा नमूना भ¥याङ्ग (एउटा सुल्टो र उल्टो) बनाई जसमध्ये उल्टो चाँही त्यही छोडिन्छ । त्यसको अर्थ मलामीहरुको सातो फर्काएको
हो । अन्तमाः ढुङ्गाको ढकनी लगाएर कोरा बस्ने लगायत परिवारको माछेले देब्रे हातले तीन पटक मट्टि दिनु पर्छ र त्यसपश्चात क्रमशः सबै मलामीले पनि मट्टि दिनु पर्छ । अनि माटोले पूर्ण रुपले पुरेर त्यसमाथि वरिपरी उल्टो भाटाले बारेर घरको नमूना बनाई छोडी जानुपर्छ ।
वंशभित्र मरौ परेपछि जुठो लाग्छ । सामान्य अवस्थामा पाँचमा (५) छाक जुठो बार्नुपर्छ । परिस्थिति अनुसार जुठो बार्ने अवधिलाई परिमार्जन पनि गर्न सकिन्छ । छाक बार्दा मुलरुपमा नुन र तेल खानु हुँदैन । जुठोबाट निस्कँदा नुन तेल छोएर चोखिइन्छ । त्या भन्दा अगाडी ढोक फुकाउनु पर्छ । जसमा जुठो परेको घरको सदस्यले (कोरा बस्ने लगायत) आफ्नो भान्जा–भान्जी नभएमा ज्वाँई चेलालाई बलेसीमा टिका लगाईदिई दान दक्षिणा दिएर ढोग चलाउनुपर्छ (दुःखको अवस्थामा ढोगभेट चल्दैन) नुन तेल छुनको लागि एउटा दुनामा नुन र तेल राखिन्छ र अर्को दुनामा हतियार प्रयोग नगरी मारेको चल्लाको एक टुक्रा पकाको मासु र तेल राखिन्छ अनि मुल ढोका अगाडी बलेसीमा राखेर कोरा बस्नेले दुबै हातको कान्छी औंलाले छुँदै खुट्टाको बुढी औंलाको नङ्गमा र कान्छी औंलाको चेपमा छुवाउनु पर्छ । त्यसपछि अन्य छाक बार्ने दाजुभाईले छोएर जुठोबाट निस्कनु पर्छ ।
मलामी फार्से भनेको व्यक्तिको मृत्यु पश्चात उसलाई काजक्रिया गर्न मद्दत पु¥याउने दर दाजुभाई, आफन्तहरुलाई भारा (बोझ) नपरोस भनी उहाँहरुको लागि तथा मृतकको नाममा गरिने कार्यक्रमलाई मलामी फार्से भनिन्छ । अथवा मलामीहरुले गरेको सहयोगको कदर गर्दै घरपरिवारले धन्यवाद स्वरुप खानपिनको व्यवस्था गरिने कार्यलाई मलामी फार्से भनिन्छ । यदि यसो नगरे घरपरिवार लगायत मृतकको आत्मालाई बोझ रहिरहन्छ भन्ने मान्यता छ । त्यसैले कुनै एक दिन सबैको सल्लाह र सहज अनुरुप सम्पूर्ण मलामीहरु भेला भएर घरपरिवारले तयार पारेको खानाहरु खाई पिई गरेर उनीहरुलाई उक्त बाधा र भाराबाट छुटकारा दिलाई दिनुपर्छ अर्थात फार्से गरिदिनु पर्छ । सम्पूर्ण तयारी पूरा भएपछि सबै इष्टमित्र भेला भएर त्यसमध्ये एकजना बुढ्यौली वा घरकै अगुवाले धन्यवाद स्वरुप मुन्धुमी मन्तव्य राखेर अन्तमालो आजबाट सबैलाई फार्से होस्भनेर सबैले एकै स्वरमा फार्से भनेर भनिदिनु पर्छ ।