Reg.No: 564
दिखुक्पा सेवा समाज
Dikhukpa Sewa Samaj
(स्था:२0७३)
PAN.No: 608619039
खोटाङ्ग जिल्लाको दक्षिण पूर्वी भेगमा अवस्थित सावा खोलाको आसपास सवाली सातपाँछ भनेर कहलिएको राई वान्तावा समूह भित्रको एउटा महत्वपूर्ण सदस्य हो “दिखुक्पा पाछा” । एउटै पुर्खाको सन्तान नै वंश हो र आज अस्तित्वमा रहेको सम्पूर्ण दिखुक्पाहरु पनि एउटै पुर्खाको सन्तान भएकोले दिखुक्पा वंश भन्दा फरक पर्दैन । हामी सम्पूर्ण दिखुक्पा एउटै वंश एउटै रगतको दाजुभाई हौं । हाम्रो सम्पूर्ण वंशको जानकारी र सूचना समावेश गरिएको संगालो नै वंशावली हो । त्यसैले हामी दिखुक्पाहरुको परिचयपत्रको रुपमा दिखुक्पा वंशावली प्रकाशन गर्न आवश्यक महशुस गरिएकोले वंशावली पुस्तक प्रकाशन गरिएको छ ।
दिखुक्पा वंशको पृष्ठभूमी अथवा संक्षिप्त इतिहास बारे खोजतलास गर्दा के कुरा बुझिन्छ भने हामी यो सावा भेगमा अन्तैबाट सरेर आएका थियौं भन्ने कुरा थाहा पाउँछौं । हालको भोजपुर जिल्लाको दिल्पा भन्ने गाउँबाट एवैछा पाछाको खारुसुन नाम गरेका व्यक्ति टेम्के, सेल्मेको जंगलमा शिकार खेल्दै यो सावा ढापमा आइपुगे । उनलाई यस भेगमा आइपुगेपछि फर्केर जाने मन भएन । त्यसैले बस्नकोलागि खोब्ताराङ्ग ओढार रोजे । त्यही बसेर उनले आफ्नो साखा सन्तान फैलाए जो कालान्तरमा त्यहीं वरिपरि बसे । खारुसुनको दुई छारा थिए–तुलसा र उर्तुचा । तुलसाको दुई भाई छोराहरु–दिखुक्पा र बारालुन । त्यसैगरी उर्तुचाको चाहीं दावा मात्र छोरा थिए । यी तीन भाईको समयकालमा सावा भेगमा सावाली सातपाछाको निर्माण गर्नुपर्ने परिस्थिति उत्पन्न हुँदा यी तीनै भाईको नामलाई नै पाछाको मान्यता प्रदान गरी खिम्दुङ्ग, राताङ्गखा, याङ्गमा र सोनाहाङ्ग सहितको सावाली सातपाछाको निर्माण भयो। यसरी नै एउटा व्यक्तिको नामबाट पाछामा परिणत भई आजको दिनसम्म पनि त्यसैलाई पालना गर्ने गरिएको छ । यसरी हेर्दा हामी दिखुक्पा वंशको मूल जरा “खारुसुन” हो भन्ने कुरामा कसैको शंका नहोला । उनै खारुसुन यस भेगमा आएर आफ्नो सन्तान फैलाए पछि गएर उनका सन्तान पनि छुट्टा छुट्टै पाछामा विकसित भयो । त्यही विकसित हाँगामध्ये एक हामी दिखुक्पा हौं ।
जसलाई हामी एउटा वंशको रुपमा स्थापित गरी यो वंशावली प्रकाशन गरेका छौं । हामी सम्पूर्ण दिखुक्पाहरु एउटा पुर्खा र एउटै थात्थलोको सन्तान भएपनि आज विभिन्न कारणले यत्रतत्र फैलिएका छौं । यसरी फैलिदै जाने क्रममा हाम्रो भौगोलिक साथै भावनात्मक दूरी पनि बढ्दै गईरहेको छ । ।।।सन्तान घटेको भन्दा बढेको राम्रो, नासिनु भन्दा फैलेकै राम्रो । तर दूरीचाही बढ्नु भएन’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै संसारको जुनै कुनामा रहे पनि आफ्नो वंश अथवा दाजुभाई बिर्सनु हुन्न । यसको मुख्य कारण हो, भोली गएर आफ्नै वंशभित्र विहेवारी कसैको नहोस्भन्ने हो । हाम्रो संस्कारमा वंश भित्रको वैवाहिक सम्बन्ध वर्जित छ । यस कुरालाई विज्ञानले पनि सही हो भन्ने कुरा प्रमाणित गरेको छ । त्यसैलेभोली गएर आफू र आफ्नो सन्तानमा त्यस्तो दुखद घट्नाहरु नघटुन् भन्नको लागि पनि आफ्नो वंशसंग परिचित हुन आवश्यक छ । यो मात्र होइन, हामी एक सामाजिक प्राणी हौं र हाम्रो हरेक कृयाकलापमा समाजको आवश्यक पर्छ । त्यो समाज भनेकै आफ्नो वंश हो । आफ्नो दाजुभाई हो । त्यसैले आफ्नो दाजुभाईसंग सँधै नजिक रहनु पर्छ, ताकि आफ्नो जीवनयापन सहज र सरल रहोस् । यही उद्देश्य प्राप्तिको लागि दिखुक्पा सेवा समाजको गठन भएको छ । त्यसै क्रममा दिखुक्पा सेवा समाजले आफ्नो पहिलो खुड्किलोको रुपमा वंशावली प्रकाशनलाई लिएको छ । वंशावली प्रकाशनको मूल उद्देश्य भनेकै आफ्नो पिताप्ुर्खासंग अनभिज्ञ हालका पुस्ताहरुलाई आफ्नो पुस्ता र वंशसंग परिचित गराउनुका साथै आउने पिढीको लागि आफ्नो इतिहास सुरक्षित गरिदिनु हो । यसका साथै आफ्नो वंशको उत्थान र संरक्षण सम्बद्र्धन गर्ने भन्ने मूल लक्ष्यका साथ दिखुक्पा सेवा समाज अगाडी बढ्दो छ । यो वंशावली प्रकाशनले हामी सम्पूर्ण वंशलाई अझ नजिक ल्याउने अनि हाम्रो भाईचाराको सम्बन्ध अझ धेरै प्रगाढ बनाउने छ भन्ने विश्वस्त छौं । अन्तमा, वर्षौदेखिको हामी सबैको मनमा रहेको चाहना आफ्नो वंशको वंशावली बनेको हेर्ने कुरालाई सार्थक पार्न सफल भएकोमा सम्पूर्ण दिखुक्पा संशमा बधाई तथा शुभकामना ।
अध्यक्ष
रामप्रसाद राई
दिखुक्पा सेवा समाज
केन्द्रिय कार्य समिति
लिकुवापोखरी–९, खोटाङ्ग सगरमाथा, नेपाल