Reg.No: 564
दिखुक्पा सेवा समाज
Dikhukpa Sewa Samaj
(स्था:२0७३)
PAN.No: 608619039
वंशावली भन्नाले एउटै पुर्खाको सन्तानहरु अर्थात्वंशको संकलित नामावली तथा विवरण भनेर बुझिन्छ । यो एकदमै महत्वपूर्ण र सम्बेदनशील विषय पनि हो किन- भने यसले एउटा वंशको संक्षिप्त इतिहास बताउँछ साथै वर्तमानमा भाइचाराको सम्बन्धलाई मजबुत पार्दछ । त्यसैले यस्तो गौरवमय काममा मैले पनि केही सहयोगीभूमिका खेल्न पाएकोमा भाग्यमानी ठान्दछु । यसै सिलसिलामा यो वंशावली तयार पार्नका लागि योगदान दिनुहुने समस्त दाजुभाईप्रति आभार व्यक्त गर्दै मेरो दुई बचन संक्षेपमा राख्न चाहन्छु ।
यो दिखुक्पा पाछाको वंशावली संकलन गर्ने मेरो सानै उमेरबाट इच्छा थियो फलत म भारतीय सेनामा भर्ती भई २८ वर्षसम्म भारतको हिमाल, पहाड, मैदान, राजस्थान, मरुभूमी, काउण्टर यन्सर्जेन्सी, श्रीलंका र शान्ति सेना लेवनान लगायतका स्थानहरुमा बिताएँ । सेवानिवृत्त भई घरायसी जीवनमा फर्के पछि वंशावलीको बारेमा चर्चा चलिरहँदा मेरो पनि इच्छाहरु पुनः जागेर आए अनि बुबा दिलप्रसाद दिखुक्पा राई र काका उजिन्द्र बहादुर दिखुक्पा राईले लेख्नु भएको वंशावली र दाजु राम कुमार अनि भाई रामप्रसादले टिपोट गर्नु भएको नामावलीहरु हेर्ने मौका पाएँ । यीनै कुराहरुलाई आधार मानी संकलन तथा सम्पादन गर्ने निधो गरेँ । मैले हात पारेकोश्रोतहरुमा पुराना ढाँचाका थिए जुन हेर्न र बुझ्नलाई अलिक सहज नभएको महसुसगरी यसको ढाँचा परिवर्तन गरी सरल र सहज तरिकाले हेर्न सकिने बनाउनतर्फ मेरो ध्यान केन्द्रित भयो । धेरै सोचविचार गरेपछि फौजमा प्रयोग हुने अर्गनाइजेसन चार्टको ढाचामा वंशावलीलाई पनि ढाल्न सके राम्रो हुने ठानी हातैले कोरी दाजुभाई माझ देखाएँ र सबैले हुन्छ राम्रो छ भन्ने प्रतिकृया दिनुभयो ।
उक्त ढाँचामै सम्पूर्ण वंशावली ढाल्ने निधो त गरियो तर हातैले छिटो हुने सम्झी बजारबाट नयाँ कम्प्यूटर किनेर ल्याएँ र ज्वाँई अमित मोक्तनसँग डिजाईनिङ्ग सिकेँ । यसरी सम्पूर्ण तयारी पुरागरी दिखुक्पा वंशको वंशावलीलाई पहिलो पुस्ताबाटै नामावलीहरु पनि निरन्तर थप्दै लगेँ । यसै सिलसिलामा दुई जना भतिजाहरु बिरेन्द्र र भूपेन्द्र मलाई भेट्न आउनु भयो ।उहाँहरु पनि हाम्रो वंशावली बनाउनु पर्छ भन्ने सोचका साथ सबै दक्षा (दाजुभाई) संग भेट्दै सरसल्लाह लिँदै हिँड्नु भएको रहेछ । मैले पनि जाने बुझेको कुराहरु बताए अनि आफुले गरेको काम पनि देखाएँ । त्यो देखेर भतिजहरु बडो उत्साहित हुनुभयो र आगामी कामको लागि अत्यन्त उपयोगी हुने भनी पेनड्राइभमा लगाई माग्नु भयो ।त्यसपछि आउँदा भतिजहरुले वर्तमान पुस्ता र छुटेकाहरुको नामावली खोजी संकलनको लागि फाराम पनि बनाएर ल्याउनु भयो । उक्त फाराम बोकि भतिजहरु हाम्रो मुलथलो पहाड (खोटाङ्ग) हुँदै सुनसरी, उदयपुर लगायत पश्चिमतिर लाग्नुभयो भने म लगायत मेरा दाजु सु. लोकनाथ दिखुक्पा भने मोरङ्ग झापातिर भने घरदैलो नै गरेर नामावली संकलन गर्न थाल्यौँ । यसको अलावा दार्जिलिङ्ग सिक्किम आसामतिर हुनहुने दक्षहरुलाई भने फोन इन्टरनेटको सहायताले सम्पर्क गरी नामावली संकलन ग¥यौं ।
यसरी संकलन गरेको नामावलीलाई कम्प्यूटराइज र आकर्षक डिजाइनमा ढाल्ने काम हुँदै गर्दा वंशावली एउटा जिम्मेवार निकायको रोहवरमा बनाइनु पर्छ भन्ने कुरालाई ध्यानमा राख्दै उक्त निकायको निर्माण तथा वंशावली सम्बन्धि छलफलको लागि झापा मोरङ्ग सुनसरीमा बसोबास गरिरहनु भएका दक्षाहरुको भेला मिति २०७२ भाद्र १९ गते गोठगाउँ सु. लोकनाथ दिखुक्पाको घरमा बोलाइयो । उक्त भेला पनि सम्पूर्ण दिखुक्पालाई समेट्ने एउटा साझा संस्थाको टड्कारो आवश्यकता र महत्वबारे मोहोर लगाउँदै गठनको प्रक्रियामा जाने निर्णय गर्यो । जस अनुसार सम्पूर्ण दिखुक्पाहरु आफ्नो मुल थलो अर्थात्तेनुवा गाउँ लिकुवापोखरी गा. वि. स. वार्ड नं. ९ खोटाङ्ग जिल्लामा मिति २०७२ माघ ११ गते बृहतरुपमा भेला भई घनिभुत छलफल गरी सर्वसम्मतीले संस्थाको जन्म नामाकरण साथै तदर्थ समितिको पनि चयन गर्ने भन्ने कुरा निर्णय गरियो ।गोठगाउँ भेलाले पारित गरे अनुसारको बृहत दिखुक्पा भेलाको तयारी चल्दै गर्दा अकस्मातरुपमा मिति २०७२ मंसीर ३ गतेका दिन दाजु सु.लोकनाथ दिखुक्पाको निधन भयो । उहाँको निधनले सम्पूर्ण दिखुक्पा परिवारमा ठुलो आघात परेको महशुस गरेका छौं किनभने उहाँ एउटा अभिभावक हुनुहुन्थ्यो जो सदैव आफ्नो वंशको लागिपर्ने अनि वंशको सँधै माया अनि आदर गर्ने । उहाँको पनि ठूलो सपना थियो कि दिखुक्पा वंशावली बनेको अनि घरघरमा पुगेको हेर्ने । जसको लागि धेरै मेहेनत पनि गर्नु भएको छ भन्नै पर्दा मेरो प्रेरणाको स्रोत साथै गर्न लगाउने र दक्षाहरुको घरघर हिँडाएर देखाएर सबैसँग नजिक गराउने सहयात्री पनि हुनुहुन्थ्यो । त्यसैले मेरा यी सम्पूर्ण उपलब्धिहरु उहाँमै समर्पित गर्न चाहन्छु । यसरी दिखुक्पा वंश भनेपछि मरिहत्ते गर्ने एउटा खम्बा ढले पनि हामी बिछिप्त भएनौं अझ उहाँकै लागि भए पनि यो सफल गराएरै छाड्ने दृढ संकल्पकासाथ अघि बढ्यौं र पूर्व निर्धारित मिति र स्थानमै हाम्रो बृहत दिखुक्पा भेला सफलतापूर्वक सम्पन्न ग¥यौं । सोही भेलाले दिखुक्पा सेवा समाज नामक दिखुक्पाहरुको साझा संस्था स्थापना गर्नुका साथै तदर्थ समिति पनि चयन गरी जि. प्र. का. खोटाङ्गमा दर्ता गर्नको लागि सर्वसम्मत निर्णय गरियो । सोही संस्थाको दर्ता विभिन्न प्रशासनिक तथा कानुनी प्रक्रियागत कारणले गर्दा ढिला हुन गयो । जसले गर्दा हाम्रो वंशावली प्रकाशनमा समेत ढिला भयो । सबै प्रक्रियाहरु पुरा गरेर बल्ला हाम्रो संस्था दर्ता भएको छ र वंशावली पनि पुरा भई अन्तिम बिन्दुमा पुगेको छ । जसले गर्दा म हर्षित छु ।
हामीसंग उपलब्ध सम्पूर्ण स्रोत र साधन उपयोग गर्दै पुस्तक तयार पारेका छौं तथापि गर्दै जाँदा हामी चुकेको हुनसक्छौं । हाम्रो अध्ययन अनुसन्धान अधुरो र अपुरो रहन गएको हुनसक्छ । कतिपय अवस्थामा प्राविधिक तथा मानविय कमजोरी भएको हुनसक्छ । त्यसको लागि क्षमायाचना साथै छुट्न गएका सामाग्रीहरु आउँदा संस्करणमा समावेश गरिदै जानेछ भन्ने विश्वस्त बनाउन चाहन्छु । त्यसको लागि सम्पूर्ण दक्षाका राय, सल्लाह, सुझाव अनि सहयोगको अपेक्षा गर्दछु ।
अन्तमाः– यो वंशावली तयार पार्नका लागि लागि पर्ने भतिजहरु बिरेन्द्र दिखुक्पा र भुपेन्द्र दिखुक्पा लगायत सम्पूर्ण सहयोगी दिखुक्पा परिवारहरु साथै अग्रज काका दाजुहरु अनि पुर्खाको हस्तलिखित वंशावली विज्ञ बुद्धिजिवीहरुमा यो दिखुक्पा सेवा समाज परिवार र मेरो व्यक्तिगत तर्फबाट हृदयदेखि नै अभिनन्दन टक्राउँदछु ।
झाराचिलाइ सेवा ! ओनै….!!
शु–पशुपति राई
मिति ः २०७४÷०७÷०९