Dikhukpa Sewa Samaj

सायाचोब्माः

किरात संस्कारमा सबैभन्दा उच्च स्थान आफ्नो शिरलाई दिइन्छ । सामान्य रुपमा हेर्दा पनि मानव अङ्गमध्ये टाउको सबै भन्दा माथि नै हुन्छ । सम्भवत सोही कारणले पनि हुन सक्छ मुन्धुमी संस्कारमा साया अर्थात्शिर (टाउको) लाई उच्च अनि पवित्र स्थान दिइन्छ । यस्तो पवित्र अनि महत्वपूर्ण अङ्गको सदैव आफुले पनि मान गर्नुपर्छ भन्ने टड्कारो मान्यता छ । आफ्नो शीरको मान र ओहदा सधै कायम राख्नु पर्छ सँधै ठाडो अनि उच्च राख्नुपर्छ । यसलाई जान वा अन्जानमा पनि ढल्नु दिनुहुँदैन । यदि कहिँ कतै आफ्नो शिरको अपमान भएको महसुस भएमा क्षमायाचना सहित यसलाई उठाउने वा ठडाउने काम गर्नुपर्छ । जसलाई सायाचोब्मा भनिन्छ, वान्तवा भाषामा शिरलाई साया र उठाउनुलाई वा ठडाउनुलाई चोङ्गमा भनिन्छ । यो सायाचोङ्गमा एउटा मुन्धुमी परम्परा हो र यसलाई सम्पन्न गर्न मुन्धुमी ज्ञान आवश्यक पर्छ । त्यसैले मुन्धुमी ज्ञाता वा जानकारहरुले मात्र यो विधि सम्पन्न गर्नसक्छन्।

 

आवश्यक सामाग्रहीहरुः

१. रक्सी
२. सोलोवा (गाड भएको चिण्डो)
३. याङ्ग (पैसा)
४. आरावा (चामल)
५. माग्बाला बाग (भोर्लाको पात)
६. दियो
७. सिप्खादि (चोखो जाड)
८. अलोब्दी (ठूलो अदुवा), सुबिदि (सानो अदुवा)
९. वापा (भाले)
१०. बन्दुक र गुलेली
११. दाबे (खुकुरी)
१२. लासुन (ब्यक्ति नभएको अवस्थामा उसको कपडा)

 

विधिः
सम्पूर्ण सामाग्रीहरु जम्मा भएपछि कुनै चिजले एक निम्ठो चामल भर्ने अनि त्यसलाई एउटा टपरामा खन्याउने त्यसमाथि दियो बाल्ने । दियोसँगै साया गर्ने व्यक्तिको साथबाट अथवा उसको नामको केही पैसा पनि राख्ने । साया गर्ने व्यक्ति अगाडी आएर थान छेउमा बस्ने अथवा उसको कपडा अगाडी राख्ने खुकुरी अनिवार्य भिरेको हुन्ुपर्छ । दोवाङ्गले कुलपितृलाई पुकार्दै बल माग्दै विधिलाई अगाडी बढाउँछन्। हे कुलपितृ हो माङ्गछामा हो । यस घरका तिमीहरुको छोरा पौवापरदेश गर्दा बाटोघाटो हिँड्दा खोलानाला तर्दा भुलचुकमा उसको शिर ढल्यो होला । साक्षात देख्ने तिमीहरु छौ अनि यो घरको शक्तिको स्रोत नै तिमीहरु हौ । त्यसैले रक्षा गरिदेउ अनि फेरि पनि अस्तिर्झै यो तिम्रो सन्तानको शिर उठाइदेउ भनि बिन्ति बिसाउँदैछौं। हे कुलपितृ हो माङ्गछामा हो घरको रखवाला हो यो छोराको शिर ढलेको भए यो भाले चढाएर यसै भालेको शिरले उसको ढलेको शिर उठाइदेउ अनि सँधै शिर ठडाएर हिँड्न मद्दत गर सँधै हिमाल झैं अटल र उच्च शिर पारेर हिँड्न सकोस्यो छोराले। लौ है बल देउ भन्दै सोलोलो …….सोलोलो……सोलोलो भन्दै तीन पटक भन्नुपर्छ अनि यतिबेला साया गर्ने व्यक्तिलाई उभन्दा कान्छो भाइहरुले उचाल्नु पर्छ । यो बेला उसले गुलेली तथा बन्दुक बोक्नुपर्छ साथै रक्सी पनि पिएको जस्तो गर्नुपर्छ । त्यसपछि भालेलाई रेटी मारिन्छ अनि पोलेर टाउकोको भाग चाहि थानमा चढाउनुपर्छ । उक्त टाउको पछि साया गरेको व्यक्ति आफुले मात्र खानुपर्छ । यसरी टाउको थानमा चढाएपछि दोवाङ्गले लौ है यो छोराको ढलेको शिर उठाइयो कुलपितृ हो भुलचुकमा गल्ति भए माफ गरिदेउ अनि सँधै यो छोराको रक्षा गर शिर सँधै उच्च राख्न मद्दत गर भनी समापन गर्दछन्। समापन पश्चात दियो राखेको टपरीको चामल फेरी अघिकै भाँडाले नाप्नुपर्छ र त्यो चामल अघिभन्दा बढेर आउँछ भन्ने मान्यता छ । यदि बढेर आयो भने त्यो कार्य सफल भएको मान्नुपर्छ र उक्त चामल छुट्टै पकाएर साया गरिएको व्यक्ति एक्लैले खाइसक्नु पर्छ ।